मोहन बरुवालको उदाहरणीय सामाजिक भावना—आजको दिनको सबैभन्दा मिठो “Momo”

अक्कल तामाङ

डिग्निटी मुनाफारहित मिडिया

सेप्टेम्बर १३, २०२६

न्युयोर्कको ज्याक्सन हाइट आज फेरि एकपटक मोमोको स्वाद, नेपाली तथा हिमालयन संस्कृति, संगीत र सामुदायिक उत्साहले रंगियो। १४औँ वार्षिक Momo Crawl मा ३० भन्दा बढी Tibetan, Nepali र South Asian food vendors सहभागी भए। Diversity Plaza तथा 37th Road आसपास भएको कार्यक्रममा हजारौँ मानिस सहभागी भएका थिए। सहभागीहरूले विभिन्न रेस्टुरेन्टका $1 momo tasting गर्दै आफ्नो मनपर्ने momo लाई मतदान गरेका थिए। 

Momo Crawl सन् 2012 मा Queens का food writer तथा tour guide Jeff Orlick ले सानो सामुदायिक जमघटका रूपमा सुरु गरेको कार्यक्रम हो। अहिले यो ज्याक्सन हाइटको एउटा महत्वपूर्ण food-and-culture event बनिसकेको छ। कार्यक्रम Students for a Free Tibet सँग सहकार्यमा आयोजना हुँदै आएको छ र पासपोर्टबाट प्राप्त रकम त्यस संस्थाको मानवअधिकार तथा सांस्कृतिक संरक्षणसम्बन्धी काममा सहयोग हुने आयोजकले बताएका छन। यसैगरी यस वर्षको Momo Championship Belt का लागि भएको प्रतिस्पर्धामा Om Wok रेस्टुरेन्ट विजेता बनेकोछ। 

आजको Momo Crawl मा मोमोको स्वाद र प्रतियोगिताभन्दा पनि एउटा अर्को मानवीय घटना विशेष रूपमा सम्झनलायक बनेको छ। आज Momo Crawl मा सहभागी ३१ जना रेस्टुरेन्ट व्यवसायीमध्ये एक हुनुहुन्थ्यो नमस्ते टाशी देले रेस्टुरेन्टका सञ्चालक मोहन बरुवाल। आज उहाँले आफूलाई केवल एक रेस्टुरेन्ट मालिकका रूपमा प्रस्तुत गर्नुभएन।उहाँले आफ्नो आजको व्यापारबाट प्राप्त रकमको १० प्रतिशत अर्थात् $500 नेपालका बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गर्नुभयो। त्यो रकम खोसोखास मिडियाका वरिष्ठ सम्पादक किशोर पन्थीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी प्राप्त भएको छ। आज ज्याक्सन हाइटमा सयौँ हजारौँ मानिस मोमोको स्वाद लिन भेला भइरहेका बेला, मोहन बरुवालले हजारौँ माइल टाढा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको पीडा सम्झिनुभयो। 

भाडा, कर्मचारी, खाद्यान्न, बीमा, कर, बिजुली, सप्लायर र दैनिक खर्चको जिम्मेवारीबीच आफ्नो कमाइको हिस्सा अरूका लागि छुट्याउनु आर्थिक निर्णय मात्र होइन, मानवीय निर्णय हो। त्यसैले मोहन बरुवालको आजको सहयोगलाई केवल $500 डोनेशन भनेर हेर्नु हुँदैन।यो एउटा सन्देश हो, आज उहाँले दिएको रकमले मात्र कति ठूलो परिवर्तन ल्याउँछ भन्ने कुरा रकमले निर्धारण गर्दैन तर उहाँको उदाहरणले अरू १० जनालाई प्रेरणा दियो भने? १०० जनालाई प्रेरणा दियो भने? १,००० जना व्यवसायीले आफ्नो व्यापारको सानो हिस्सा विपत्तिमा परेका परिवारका लागि छुट्याए भने?
त्यसको परिणाम कति ठूलो होला? त्यसैले मोहन बरुवाललाई सम्मान गर्न कन्ज्युसाइ गर्नु हुन्न।


आज तपाईंले दिनुभएको रकम भन्दा ठूलो तपाईंले दिनुभएको सन्देश हो। तपाईंले देखाउनुभयो कि,
व्यवसाय सफल हुनु भनेको आफू मात्र सफल हुनु होइन। आफ्नो सफलताको एउटा सानो हिस्सा समाजलाई फर्काउन सक्नु पनि सफलताको सुन्दर परिचय हो। आज तपाईंले नेपालको बाढीपीडितलाई सम्झिनुभयो। सायद तपाईंले सहयोग गरेको परिवारले तपाईंलाई कहिल्यै व्यक्तिगत रूपमा भेट्ने छैन। सायद उनीहरूलाई तपाईंको नाम पनि थाहा नहोला। तर कुनै विपत्तिमा आफ्नो घर गुमाएको परिवारले तपाईंको सहयोगबाट फेरि केही किन्न पायो भने, कुनै बच्चाले त्यसबाट आवश्यक सामान पायो भने, कुनै परिवारले केही दिनको राहत पायो भने तपाईंको आजको कमाइ केवल व्यापारको कमाइ रहेन, त्यो मानवताको कमाइ बन्यो।

आजको Momo Crawl ले एउटा सुन्दर कुरा सिकायो मोमोले मानिसलाई एउटै ठाउँमा ल्यायो।
तर मानवताले मानिसलाई एउटै हृदयमा जोड्यो।
आज ३१ जना रेस्टुरेन्ट व्यवसायीहरू आफ्नो खाना र व्यवसाय लिएर सहभागी भए। कसैले उत्कृष्ट momo बनाए। कसैले पुरस्कार जिते। कसैले नयाँ ग्राहक पाए। तर मोहन बरुवालले आफ्नो सफलताको एउटा हिस्सा नेपालका पीडित परिवारलाई दिएर एउटा फरक सम्मान जित्नुभयो, मानवीयताको सम्मान। Momo Crawl को Championship Belt कसले जित्यो भन्ने कुरा अर्को वर्ष फेरि बदलिन सक्छ। तर आज मोहन बरुवालले जितेको “मानवताको सम्मान” कुनै प्रतियोगिताले खोस्न सक्दैन। तपाईंको यो सहयोगले तपाईंलाई मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई गर्व गर्ने अवसर दिएको छ। व्यवसाय गरौँ। सफल बनौँ। तर सफलताको एउटा हिस्सा समाजलाई फर्काऔँ। यही हो साँचो नेपालीपन। 

मोहन बरुवालज्यू, तपाईंलाई हाम्रो पनि हार्दिक धन्यवाद र सम्मान।